समाचार
सिरानचोक गाउँपालिकामा ‘कृषि एम्बुलेन्स’ सेवा सञ्चालन, कृषकलाई ढुवानीमा सहजता
गोरखा, २०८२ जेठ २९ गते — सिरानचोक गाउँपालिकाले कृषकहरूको उत्पादनलाई बजारसम्म समयमै पुर्याउन मद्दत गर्ने उद्देश्यले ‘कृषि तथा पशु उत्पादन ढुवानी सेवा (कृषि एम्बुलेन्स)’ को औपचारिक सुरुवात गरेको छ।
बिहीबार आयोजित एक समारोहबीच गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र गुरुङको अध्यक्षतामा र उपाध्यक्ष रिता देवकोटा, प्रमुख प्रशासकीय अधिकृत ठाकुर प्रसाद अर्याल, वडा अध्यक्षज्यूहरू, कार्यपालिका तथा गाउँसभा सदस्यज्यूहरू, कर्मचारी, सहकारी संस्था तथा कृषक समूहका प्रतिनिधिहरूको उपस्थितिमा सेवा सञ्चालनको घोषणा गरिएको हो।
गाउँपालिकाले सञ्चालनमा ल्याएको यो सेवा साप्ताहिक रूपमा पूर्वनिर्धारित रुट अनुसार विभिन्न बस्तीहरूमा पुग्नेछ। सेवा अन्तर्गत कृषकहरूले उत्पादन गरेका तरकारी, फलफूल, अन्न, दूध, मासु लगायतका कृषि तथा पशुपालनजन्य सामग्रीहरू बजारसम्म ढुवानी गर्न पाउनेछन्।
गाउँपालिकाले विश्वास व्यक्त गरेको छ कि यस सेवाले कृषकहरूलाई समयमै बजार पहुँच दिलाउने, उत्पादन खेर जाने समस्या न्यूनीकरण गर्ने र स्थानीय उत्पादनको मूल्य अभिवृद्धिमा सकारात्मक प्रभाव पार्नेछ।
कार्यक्रममा उपस्थित कृषकहरूले सेवा प्रति खुसी व्यक्त गर्दै यसलाई व्यवहारिक, समयसापेक्ष र कृषक–मैत्री पहल भनेका छन्। उनीहरूले नियमित रूपमा सेवा सञ्चालन गरिए कृषिमा आधारित आम्दानीमा वृद्धि हुने विश्वास व्यक्त गरेका छन्।
सिरानचोक गाउँपालिकाको कृषि एम्बुलेन्स सेवाले स्थानीय स्तरमा कृषि ढुवानी व्यवस्थापनमा नयाँ ढोका खोलेको छ, जसले दीर्घकालीन रूपमा ग्रामीण अर्थतन्त्र सुदृढीकरणमा योगदान दिने अपेक्षा गरिएको छ।