समाचार
सिरानचोक गाउँपालिकामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
सिरानचोक गाउँपालिकाको आयोजनामा आज २०८२ जेठ २९ गते एक सार्वजनिक सुनुवाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा गाउँपालिकाबाट नागरिकलाई प्रदान गरिएको सेवा, विकास निर्माणका गतिविधिहरू, चालू योजना तथा आगामी कार्यदिशाका सम्बन्धमा विस्तृत प्रस्तुति दिइएको थियो।
सुनुवाइ कार्यक्रममा पालिकाका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, सम्बन्धित शाखा प्रमुखहरू, स्थानीय नागरिक, सरोकारवाला निकायका प्रतिनिधिहरू तथा विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमको प्रमुख उद्देश्य सेवाग्राही र पालिकाबीच प्रत्यक्ष संवाद स्थापना, सरोकार र गुनासोहरू संकलन गर्नुका साथै विकास योजनामा नागरिकको सक्रिय सहभागिता सुनिश्चित गर्नु रहेको थियो।
सार्वजनिक सुनुवाइ कार्यक्रमले स्थानीय शासनमा पारदर्शिता, जवाफदेहिता र सहभागितामूलक शासन प्रणालीलाई सुदृढ गर्न सहयोग पुर्याउने विश्वास लिइएको छ। कार्यक्रममा सहभागीहरुले प्रत्यक्ष रुपमा आफ्ना अनुभव, सुझाव र सरोकार व्यक्त गर्न पाएका थिए, जसले आगामी दिनमा सेवा प्रवाह थप प्रभावकारी र उत्तरदायी हुने अपेक्षा गरिएको छ।
कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहकार्य गर्नुभएको सम्पूर्ण नागरिक, सरोकारवाला निकाय, सहभागी प्रतिनिधिहरू र कार्यक्रमको सहजीकरणमा योगदान पुर्याएको सहमत मिडिया प्रा. लि. लाई गाउँपालिकाको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गरिन्छ।