FAQs Complain Problems

समाचार

सिरानचोक गाउँपालिकाको ६८ करोडको बजेटसहित नयाँ नीति तथा कार्यक्रम सार्वजनिक

तस्बीर: 

सिरान्चोक गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ६८ करोड १५ लाख ८ हजार रुपैयाँको बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। सोमबार सम्पन्न १६औँ गाउँसभा अधिवेशनमा अध्यक्ष ज्ञानेन्द्र गुरुङले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो भने उपाध्यक्ष रिता देवकोटाले अनुमानित बजेट विवरण पेस गर्नुभयो।
गाउँपालिकाले कृषि, पशुपालन, घरेलु उद्योग, पर्यटन, सहकारी, स्वास्थ्य, शिक्षा, पूर्वाधार, खानेपानी, सरसफाइ, सूचना प्रविधि र विपद् व्यवस्थापनजस्ता क्षेत्रलाई प्राथमिकता दिएको छ। निर्वाहमुखी खेतीलाई आधुनिक बनाउन, प्रत्येक वडामा कृषि स्रोत केन्द्र र ‘एक वडा, एक पकेट कार्यक्रम’ सञ्चालन गर्ने योजना छ। स्थानीय उत्पादनको ब्राण्डिङ र बजारीकरणमार्फत युवालाई स्वदेशमै उद्यमशील बनाउन ‘उद्यमी बनौं, स्वदेशमै केही गरौं’ अभियान अघि सारिएको छ।
किसानलाई प्रोत्साहन गर्न हाटबजार, कृषि मेला, किसान सम्मान, निशुल्क ढुवानी सेवा र उत्पादनको बजार व्यवस्थापन गरिनेछ। शिक्षा क्षेत्रमा दुर्घटना बीमा, दिवा खाजा, आत्मरक्षा तालिम, करेसाबारी कार्यक्रम र प्रविधिमैत्री शिक्षालाई जोड दिइनेछ। विपन्न बालबालिकालाई माध्यमिक तहसम्म निःशुल्क अध्ययनको व्यवस्था मिलाइने छ।
न्यायिक समितिको प्रभावकारिता बढाउन सूचना प्रणाली सुदृढ गरिनेछ। स्वास्थ्य तथा सरसफाइ क्षेत्रमा धुम्रपान र सुर्तीजन्य पदार्थको प्रयोगमा निरुत्साहन, स्वच्छ खानेपानी र सरसफाइ अभियानलाई निरन्तरता दिइनेछ। खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई सम्मान गरिनेछ।
वडागत बजेट अनुसार वडा नं. १ देखि वडा नं. ८ सम्मका वडामा करिब ५२ लाखदेखि ६५ लाख रुपैयाँसम्म बजेट विनियोजन गरिएको छ।
यस नीतिले विकास, समावेशीकरण र सशक्तिकरणमार्फत स्थानीय जनताको जीवनस्तर उकास्ने अपेक्षा गरिएको छ।

आर्थिक वर्ष: