समाचार
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान (२५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म)
लैिङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सिरानचोक गाउँपालिकामा विभिन्न सचेतनामूलक तथा शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिएका छन्। यस वर्षको अभियान “Unite to End Digital Violence Against All Women and Girls” भन्ने अन्तर्राष्ट्रिय नारा तथा “प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं” भन्ने राष्ट्रिय नारालाई मार्गदर्शक सिद्धान्तका रूपमा ग्रहण गरिएको छ।अभियानको प्रारम्भिक दिनमा गाउँपालिकामा कार्यरत सबै कर्मचारीहरूलाई अभियानको उद्देश्य, महत्व तथा गतिविधिहरूका बारेमा जानकारी गराई सेतो रिबन अभियान सञ्चालन गरिएको थियो। सो अवसरमा सेतो रिबनहरू सिरानचोक गाउँपालिकाका वडा नं १–८, स्वास्थ्य संस्थाहरू, तथा मा.वि.हरू मा वितरण गरि अभियानको मूल उद्देश्यबारे समेत अभिमुखीकरण प्रदान गरिएको थियो।मिति २०८२/०८/१६ गते अभियानको आठौँ दिन विभिन्न विद्यालयस्तरमा लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी राष्ट्रिय नारालाई आधार मानेर सिरानचोक–गोरखा माध्यमिक विद्यालय स्तरिय निबन्ध लेखन प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरियो। सो कार्यक्रमले विद्यार्थीहरूमा लैङ्गिक समानता, सामाजिक उत्तरदायित्व तथा हिंसा विरुद्धको सचेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको थियो।मिति २०८२/०८/१७ गते डिसेम्बर ३ का दिन, अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको सन्दर्भमा अपाङ्गता भएका व्यक्तिहरूका हक–अधिकार, समान पहुँच तथा संरक्षण सम्बन्धी विषयवस्तुसँगै लैङ्गिक हिंसा न्यूनीकरणका मुद्दाहरूसमेत समेटी सचेतनामूलक कार्यक्रम संचालन गरियो। सो कार्यक्रममा सहभागीहरूमाझ सामाजिक समावेशिता, अधिकार प्रत्याभूति र हिंसा विरुद्धको साझा प्रतिबद्धताको सन्देश प्रसारित गरिएको थियो।मिति २०८२/०८/२२ गते डिसेम्बर ८ का दिन सिरानचोक गाउँपालिका वडा नं. ६ स्थित श्री संसारी महेन्द्र माध्यमिक विद्यालयमा घरेलु हिंसा तथा लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी सडक नाटक प्रदर्शन गरिएको थियो। साझेदारी संस्था एकीकृत सेवा कार्यालय, गोरखा सँगको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा कुल २०२ जना सहभागी भएका थिए। नाटकमार्फत समुदायमा हिंसाका रूप, कारण, प्रभाव तथा रोकथामका उपायहरूबारे गहिरो संदेश प्रवाह गरिएको थियो।
समग्रमा, १६ दिने अभियानअन्तर्गत सञ्चालन गरिएका गतिविधिहरूले समुदायमा लैङ्गिक हिंसा, डिजिटल हिंसा, अपाङ्गता मैत्री सेवा, र समावेशी समाज निर्माणका विषयमा प्रभावकारी जनचेतना वृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको छ।