समाचार
गोरखाको सिरानचोकमा प्रथम खसी–बोका प्रदर्शनी सम्पन्न
सिरानचोक गाउँपालिकामा प्रथम खसी–बोका प्रदर्शनी मेला भव्यतापूर्वक सम्पन्न भएको छ। मितिः २०८२ असोज ८ गते सम्पन्न उक्त मेलामा १२५ जना किसान, कृषि सहकारी तथा समूहले सहभागिता जनाएका थिए। प्रदर्शनीमा जम्मा १४६ वटा खसी–बोका प्रदर्शन गरिएको थियो, जसअन्तर्गत ४० वटा बिक्री भएका छन्।
प्रतियोगितात्मक परिणामअनुसार वडा नं. ७ का दिपक थापा ७४ केजी तौलको बोका प्रदर्शन गरी प्रथम स्थान हासिल गरे। सोही क्रममा वडा नं. ४ का नारायण पोखरेल ७० केजी बोका सहित द्वितीय, वडा नं. ५ का राजेन्द्र पोखरेल ५८ केजी बोका सहित तृतीय तथा वडा नं. ७ स्थित बाबा कृषि फर्म ५७ केजी बोका सहित सान्त्वना विजेता घोषित भए।
यससँगै अन्य विधागत कृषकहरूलाई पनि विशेष सम्मान प्रदान गरिएको थियो। गाईभैंसी पालनमा वडा नं. ६ का भिमकुमार श्रेष्ठ, बंगुर पालनमा वडा नं. ८ का दिपक, माछा पालनमा वडा नं. ४ का तिलकबहादुर गौतम र बाख्रा पालनमा वडा नं. ७ की सीता देवी घिमिरे सम्मानित भए। साथै वडा नं. ५ का टेकबहादुर गुरुङलाई विशेष सम्मान प्रदान गरिएको छ।
सिरानचोक गाउँपालिकाले प्रदर्शनीलाई सफल बनाउन योगदान पुयाउने सहभागी किसान, कृषि सहकारी तथा समूहलाई धन्यवाद ज्ञापन गर्दै, पुरस्कार विजेता उत्कृष्ट खसी–बोका पालक कृषक तथा सम्मानित विधागत किसानहरूलाई आगामी दिनमा अझ व्यवसायिक सफलताको शुभकामना व्यक्त गरेको छ।